राष्ट्र बैंकले प्रभु, कृषि र राष्ट्रिय वाणिज्य बैंकलाई किन गर्‍यो कारबाही ?

लोकपथ
70
Shares

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुमाथि कारबाही गरेको छ ।

राष्ट्र बैंकले बैंकिङ नियम तथा नियामकीय व्यवस्थाको पालनामा कमजोरी देखिएको भन्दै तीन वाणिज्य बैंक कारबाहीमा परेका हुन् ।

जसमा प्रभु बैंक, कृषि विकास बैंक र वाणिज्य बैंक रहेका छन् ।

राष्ट्र बैंकको सुपरीवेक्षण विभागले गरेको अनुगमनपछि प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई जरिवाना गराइएको छ भने राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकलाई सचेत गराइएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावलीमा तोकिएको समयसीमा भित्र निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले समयमै कामकारबाही गर्न सचेत गराएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का र फुकुवासम्बन्धी विनियमावली, २०८१ अनुसार प्रक्रिया समयमै पूरा नगरेको पाइएपछि पहिलोपटक सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यता कृषि विकास बैंकले पनि कानुन कार्यान्वयन गर्ने निकायबाट प्राप्त अनुरोध अनुसार खाता रोक्का गर्ने प्रक्रियामा ढिलाइ गरेको देखिएकाले राष्ट्र बैंकले भविष्यमा यस्ता अनुरोध प्राप्त हुनासाथ खाता रोक्का र फुकुवा गर्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिँदै सचेत गराएको जनाएको छ । राष्ट्र बैंकले कृषि विकास बैंकलाई पनि पहिलोपटक सचेत गराएको हो ।

यता कृषि विकास बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई ५ लाख जरिवाना गरिएको छ ।
प्रभु बैंकले कर्जा वर्गीकरण, कर्जा नोक्सानी व्यवस्था तथा नियामक निकायमा पेस गरिने विवरणका सम्बन्धमा तोकिएका व्यवस्थाको पूर्ण पालना नगरेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी प्रभु बैंकले राष्ट्र बैंकमा प्रस्तुत गरेको तथ्यांक र बैंकको कोर बैंकिङ प्रणालीमा रहेको विवरणबिच असमानता समेत देखिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रभु बैंकमा समष्टिगत स्थलगत तथा जोखिममा आधारित निरीक्षणका क्रममा गम्भीर प्रकृतिका कमजोरीहरू दोहोरिएको पाइएको समेत राष्ट्र बैंकले जनाएको छ ।

२०८१ सालको निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियत सुधार गर्न निर्देशन दिइए पनि २०८२ मा गरिएको पुनः निरीक्षणमा अपेक्षित सुधार नदेखिएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (ख) बमोजिम बैंकको सञ्चालक समितिसँग सुधारात्मक कबुलियतनामा गराइएको छ ।

.कर्जा वर्गीकरणसम्बन्धी निर्देशन पालना नगरेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका अधिकांश कैफियत सुधार नगरेको तथा राष्ट्र बैंकमा पेस गरिएको कर्जा विवरण र कोर बैंकिङ प्रणालीमा रहेको विवरणबीच असमानता देखिएको भन्दै प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम ५ लाख रुपैयाँ जरिवाना गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?