झापा । नेपाल–भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि अयोग्य पेयपदार्थमाथि सुरक्षा निकायले निगरानी कडा बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन आवाका अनुसार संयुक्त चेकजाँचका क्रममा बरामद गरिएका करिब ६ लाख ६५ हजार बराबरका पेयपदार्थ शुक्रबार मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा नष्ट गरिएको हो ।
नष्ट गरिएका सामग्रीमा कोक, फेन्टा, डिउ, चिसो र स्प्राइट लगायतका पेयपदार्थ रहेका छन् । ती सामग्री नेपालमा आयात गर्न प्रतिबन्धित वा उपभोगका लागि अयोग्य भएकाले कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
काँकरभिट्टा नाकास्थित एकीकृत जाँच एकाइमा मेची भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरी को संयुक्त टोलीले यात्रु तथा मालवस्तुको नियमित जाँच गर्दै आएको छ ।
प्रहरी नायब उपरीक्षक आवाले सीमानाकाबाट हुने अवैध सामानको ओसारपसार नियन्त्रणका लागि संयुक्त निगरानीलाई निरन्तरता दिइएको बताउँदै यस्ता गतिविधिमा संलग्न हुनेमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिए । साथै, सबैलाई अवैध ओसारपसारमा संलग्न नहुन र जिम्मेवार बन्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया