काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मानप्रदान गरेको छ ।
नेपाल र भियतनामबीचको कूटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भियतनाम सरकारले श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।
भियतनामको वैदेशिक सेवामा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान गरिएको सम्मानपत्रमा भियतनामका परराष्ट्रमन्त्री हो बिन्ह ट्रुङले हस्ताक्षर गरेका छन् ।
नेपालमा रहेका भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण गर्नुका साथै दुई देशबीचको द्विपक्षीय सहयोग विस्तारमा सेतुको भूमिका निर्वाह गरेको भन्दै भियतनाम सरकारले श्रेष्ठको योगदानको प्रशंसा गरेको छ ।
सम्मान ग्रहण गर्दै अवैतनिक महावाणिज्यदूत श्रेष्ठले भियतनाम सरकार, परराष्ट्र मन्त्रालय तथा नयाँ दिल्लीस्थित भियतनाम दूतावासप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा नेपाल–भियतनाम सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
श्रेष्ठले कूटनीतिक, आर्थिक तथा सांस्कृतिक सहकार्य विस्तारमार्फत दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया