विराटनगर । सुनसरीका ९ वटा स्थानीय तहमा जारी कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार बिहानदेखि कर्फ्यु हटाए पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा भने यथावत् राखेको छ ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रप्रसाद अर्यालका अनुसार साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ८ः३० बजेदेखि बेलुका ५ बजेसम्मका लागि हटाइएको हो ।
यद्यपि, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम अर्को सूचना जारी नभएसम्म एकै स्थानमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ ।
देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सशस्त्र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटना भएका थिए ।
देवानगञ्ज घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन र प्रदर्शन भएका थिए। यसक्रममा सिरहाको लहानमा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
यसैबीच, गृह मन्त्री सुधन गुरुङ र पीडित परिवारबीच सहमति भएपछि देवानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिको अन्त्येष्टि सम्पन्न भएको छ । प्रशासनले शान्ति –सुरक्षा कायम राख्न सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया