वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अब अनिवार्य

लोकपथ
35
Shares

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका निम्ति नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ ।

बुधबार (साउन १३) गरिएको मन्त्रीस्तरीय निर्णयानुसार अबदेखि वैदेशिक रोजगारीका निम्ति माग प्रमाणीकरण गर्दा कामदारले गर्नुपर्ने कामको विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । साथै, काम कम्पनीभित्र (इनडोर) वा बाहिर (आउटडोर) कुन प्रकारको भन्ने स्पष्ट खुलाउनुपर्नेछ ।

यदि, दुवै प्रकारका काम गर्नुपर्ने अवस्था भए त्यसको कार्य समय समेत उल्लेख गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

कामको शीर्षक मात्र उल्लेख यसअघि माग प्रमाणीकरण हुने व्यवस्था थियो । अब विस्तृत कार्य विवरण अनिवार्य गरिएको हो ।

गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अरू पक्ष वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ ।

नयाँ व्यवस्थाबाट वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकमाथि हुन सक्ने शोषण तथा ठगी न्यूनीकरण, श्रमिकको सेवा सर्तको सुरक्षा सुनिश्चित गर्न तथा विदेश पठाउने प्रक्रियालाई थप न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?