प्रचण्डको प्रश्न- ‘हाम्रो अनुभव लिएर सहकार्य गर्न प्रधानमन्त्रीलाई के ले रोक्यो ?’

लोकपथ
21
Shares

काठमाडौं । विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको गतिवधिबारे प्रश्न उठाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले अन्य राजनीतिक दलहरुसँग कुनै सहकार्य नगरेको विषयमा टिप्पणी गरे ।

उनले अहिले पनि मुलुकको राजनीति सहज अवस्थामा आइनसकेको बताउँदै यस्तो अवस्थामा प्रधानमन्त्रीले पूराना नेताहरुसँग अनुभव लिएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

‘ठूलाठूला अप्ठेरा परिस्थितिहरुलाई निकाश दिने हैसियत क्षमता राख्ने नेताहरुको पंक्ति छ । सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरुको पंक्ति पनि छ । लोकतन्त्रको निम्ति झण्डै ७० वर्षदेखि जेलनेल यातना थुप्रैथुप्रै भोगेका नेताहरुको पंक्ति पनि छ । उनीहरुको अनुभव लिन उनीहरुसँग सहकार्य गर्न, उनीहरुसँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्या होला ? मलाई अनौठो लाग्छ,’ उनले भने ।

प्रचण्डले २ पटक मुलुकको नेतृत्व गरिसकेको आफूसँग भएका अनुभवहरु प्रधानमन्त्री बालेनले लिन नचाहेकोमा दुखेसो गरे । उनले आफूले पनि सरकारको नेतृत्व गर्दा भ्रष्टाचारको विरुद्ध लडेको र त्यसलाई प्रधानमन्त्रीले अनुभव ग्रहण गर्न नचाहेको टिप्पणी गरे ।

‘उहाँले मलाई बोलाएर एकपटक तपाईँले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भन्दै सुरु त गर्नु भा थियो, के ले तपाईँलाई सफल हुन दिएन ? भनेर सोधेपनि त हुन्थ्यो । आफ्नै अहंकारले रोक्या हो कि ? म नै प्रयाप्त छु, कोही चाहिँदैन भन्ने खालको हो कि ? यदी त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ,’ प्रचण्डले भने ।

सुनसरीमा भएको धार्मिक दंगाको समाधान खोज्न सरकार लाग्नुपर्ने उनको जोड रहेको छ । प्रचण्डले रास्वपा सभापति रवि लामिछानेले त्यसका लागि सर्वदलीय बैठक बोलाएकोप्रति सकारात्मक लिँदै प्रधानमन्त्रीले कुनै चासो नदेखाएकोप्रति आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?