काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यस क्रममा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग निष्पक्ष छानबिनको माग गरेकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले घटनामा एक स्थानीय युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् । उनले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन् ।
थापाले तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको प्रसंग उल्लेख गर्दै अहिले नागरिकको ज्यान जाँदा सरकार मौन बसेको आरोप लगाइन् । उनले सरकारको उदासीनताले राज्यप्रतिको जनविश्वास कमजोर बनेको टिप्पणी गरिन् ।
उनले नेतृत्व भनेको केवल प्रशासन सञ्चालन गर्ने मात्र नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्ने जिम्मेवारी पनि भएको उल्लेख गर्दै सरकारले आफ्नो प्राथमिक दायित्वबाट विमुख हुन नहुने बताइन् ।
थापाले साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि प्रयास नेपालको संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने उल्लेख गर्दै सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न सबैलाई संयम अपनाउन आग्रह गरिन्।
प्रधानमन्त्री र गृहमन्त्रीको संवेदनशीलतामाथि प्रश्न उठाउँदै थापाले भनिन्, ‘हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छरु नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयोरु यसको जवाफ सरकारले सदनमा दिनुपर्छ ।
उनले घटनामा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया