सरकारको बचाउ गर्दै रविले भने : ‘विश्वास छ, प्रधानमन्त्रीले जिम्मेवारी पूरा गर्नुहुनेछ’

लोकपथ
21
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउँदै सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दलहरू एकमत रहेको बताएका छन् ।

बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पछिल्ला घटनाक्रमबारे साझा धारणा निर्माण गर्न शीर्ष नेताहरूबीच विस्तृत छलफल भएको जानकारी दिए । उनका अनुसार बैठकको उद्देश्य राजनीतिक दलहरूबीच समन्वय गर्दै सरकारको ध्यानाकर्षण गराउनु थियो ।

बैठकमा सरकारको भूमिका र उपस्थितिबारे उठेका प्रश्नको जवाफ दिँदै लामिछानेले प्रधानमन्त्री तथा सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए । ‘अहिले नै समीक्षाको विन्दुमा पुगेका छैनौँ । प्रधानमन्त्रीले आफ्नो काम गर्नुहुनेछ भन्ने विश्वास छ,‘उनले भने ।

सुनसरीलगायत विभिन्न जिल्लामा भएका पछिल्ला प्रदर्शन तथा दुई युवकको मृत्यु भएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै उनले निष्पक्ष अनुसन्धानको आवश्यकता औँल्याए । नागरिकको ज्यान जानु अत्यन्तै गम्भीर विषय भएकाले सुरक्षा निकाय जिम्मेवार हुनुपर्ने उनको धारणा थियो ।

घटनाबारे विभिन्न अफवाह र भ्रम फैलिरहेको उल्लेख गर्दै उनले अनुसन्धानको निष्कर्ष नआएसम्म हतारमा टिप्पणी नगर्न सबैलाई आग्रह गरे । कुनै पनि अवस्थामा साम्प्रदायिक सद्भाव बिगार्ने, समुदायबीच घृणा वा द्वेष फैलाउने तथा हिंसात्मक गतिविधि स्वीकार्य नहुने उनले बताए ।

लामिछानेले संवेदनशील परिस्थितिमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै छिट्टै सबै दलको तर्फबाट संयुक्त अपिल सार्वजनिक गरिने जानकारी दिए । विगतका आन्दोलन र वर्तमान अवस्थाबीच तुलना गर्दै उनले अहिलेको प्रमुख दायित्व शान्ति–सुरक्षा कायम गर्नु र आपसी सद्भावलाई अझ मजबुत बनाउनु रहेको उल्लेख गरे ।

उनले आरोप–प्रत्यारोपभन्दा माथि उठेर जिम्मेवार ढंगले अघि बढ्न सबै राजनीतिक दल, सरकार र नागरिकलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?