काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै दाहालले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउनुपर्ने र सामाजिक सद्भाव तथा आपसी विश्वास कायम राख्नुपर्ने बताए ।
उनले विगतमा भूकम्प, बाढी–पहिरो तथा संविधान निर्माणका कठिन समयमा राजनीतिक दलहरूले देखाएको सहकार्य र राष्ट्रिय एकताको स्मरण गर्दै अहिले पनि त्यही स्तरको राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताए ।
दाहालले राष्ट्रिय महत्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले अपेक्षाअनुसार साझा समाधान खोज्न नसकेको भन्दै प्रश्न उठाए । यद्यपि, समसामयिक विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाएकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए ।
उनले परिस्थितिलाई सहज बनाउन सरकार थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताए । कुनै पनि समस्याको दीर्घकालीन समाधान बल प्रयोगबाट सम्भव नहुने भन्दै उनले संवाद, सहमति र राजनीतिक समझदारीबाटै समाधान खोज्नुपर्नेमा जोड दिए ।
दाहालले प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद गरी सबै राजनीतिक दललाई विश्वासमा लिनुपर्ने बताए । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने मागसमेत गरे ।
उनले बाह्य तत्वहरूले घटनास्थलको वातावरण भड्काउन सक्ने भन्दै सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे । अहिलेको समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी पूरा गर्ने समय भएको उनको भनाइ छ ।
दाहालले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सरकार, राजनीतिक दल र सबै सरोकारवाला पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया