देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता अपनाउन आग्रह

लोकपथ
42
Shares

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले गहिरो दुःख व्यक्त गर्दै सबै नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेकी छन् ।

मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको उनको सचिवालयले जनाएको छ ।

संवेदनशील परिस्थितिमा अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न आग्रह गर्दै मन्त्री मेहताले सामाजिक सद्भाव, आपसी भाइचारा र शान्ति खलबलिने कुनै पनि गतिविधिबाट टाढा रहन सबै नागरिकसँग अनुरोध गरेकी छन् ।

उनले सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने विश्वास व्यक्त गर्दै सबै पक्षलाई धैर्य र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?