काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको हो ।
शनिबार राति करिब साढे १० बजे देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई पक्षबीच भएको झडप उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर सोही गाउँपालिका–३ का ३० वर्षीय महेताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा नौ जना प्रहरीसहित १८ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।
घटनापछि क्षेत्रमा तनाव बढेपछि सम्भावित थप अप्रिय घटना रोक्न प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया