विद्यालयसँग अभिभावकको सम्बन्ध र विद्यार्थीको सिकाइमा यसको प्रभाव

लोकपथ
616
Shares

शिक्षा केवल पुस्तकीय ज्ञान हासिल गर्नु वा परीक्षामा उच्च अङ्क ल्याएर विशिष्ट श्रेणी प्राप्त गर्नु मात्र होइन । यो त जीवन जिउने कला, सुन्दर चरित्र निर्माण र मानवभित्र लुकेर रहेका सुसुप्त क्षमताहरूको प्रस्फुटन हो ।

बालबालिकाको सर्वाङ्गीण विकासको प्रक्रियामा घर–परिवार, विद्यालय र समाज अभिन्न रूपमा जोडिएका हुन्छन् । शिक्षालाई एउटा गतिशील त्रिकोणको रूपमा लिन सकिन्छ, जसका तीन मुख्य स्तम्भहरू हुन्, विद्यार्थी, शिक्षक र अभिभावक । यी तीन स्तम्भहरूमध्ये शिक्षक र अभिभावकबिचको सम्बन्ध जति कसिलो, सुमधुर, पारदर्शी र रचनात्मक हुन्छ, बालबालिकाको शैक्षिक तथा जीवनयात्रा त्यति नै उज्यालो, अनुशासित र सुदृढ बन्दै जान्छ ।

विद्यालय र अभिभावकको सम्बन्ध ‘नङ र मासु’ जस्तै अटुट हुनुपर्छ । जसरी नङ र मासुलाई एक–अर्काबाट अलग गर्दा पीडा हुन्छ र दुवैको अस्तित्व सङ्कटमा पर्छ, त्यसैगरी बालबालिकाको सिकाइ यात्राबाट विद्यालय वा घरको भूमिकालाई अलग्याउन सकिँदैन ।

विद्यालय ज्ञानको त्यो अनन्त समुन्द्र हो, जहाँबाट लाखौँ बालबालिकाहरूले आफ्नो क्षमता, आवश्यकता र रुचि अनुसार ज्ञानको तिर्खा मेट्छन् । तर, त्यो समुन्द्र सकारात्मक ऊर्जा, श्रेय र भरोसाले भरिनका लागि सम्पूर्ण अभिभावकहरूको तर्फबाट निन्दा र घृणा होइन, प्रशंसा र सकारात्मक सुझावको निरन्तर आवश्यकता पर्दछ ।

जब विद्यालय र अभिभावकबिच आत्मीय, सहयोगात्मक र विश्वासिलो सम्बन्ध कायम हुन्छ, त्यसको प्रत्यक्ष र सकारात्मक प्रभाव बालबालिकाको चौतर्फी विकासमा देखिन्छ ।

यदि अभिभावक र विद्यालयबिच समन्वयको अभाव भयो वा एक–अर्काप्रति नकारात्मक दृष्टिकोण राखियो भने त्यसको गम्भीर दुष्परिणाम सिधै अबोध बालबालिकाको भविष्यमा पर्दछ ।

बालबालिका आफ्ना अभिभावक र शिक्षकहरूबिच सुमधुर संवाद र आदरभाव देख्दा आफूलाई सुरक्षित र संरक्षित महसुस गर्छन् । आफ्ना बाबु–आमाले विद्यालय र शिक्षकको प्रशंसा गरेको सुन्दा बालबालिकामा विद्यालयप्रति गहिरो चासो र आदर सिर्जना हुन्छ । यसले उनीहरूको आत्मबल र मानसिक क्षमतामा वृद्धि गर्छ, जसका कारण उनीहरू कक्षाकोठामा नडराई खुलेर आफ्ना जिज्ञासाहरू राख्न सक्षम हुन्छन् ।

अभिभावकले विद्यालयका विविध रचनात्मक कार्यक्रम, शैक्षिक गतिविधि, र अभिभावक–शिक्षक बैठकहरूमा चासोका साथ भाग लिँदा बालबालिकामा आफ्ना अभिभावक आफ्नै पढाइप्रति गम्भीर छन् भन्ने अनुभूति हुन्छ ।

यसले उनीहरूलाई नियमित रूपमा अध्ययन गर्न, समयमै गृहकार्य पूरा गर्न र अनुशासित भई शैक्षिक गतिविधिमा संलग्न हुन उत्प्रेरित गर्छ ।

आफ्नो जीवनको उर्वर र ऊर्जाशील समय बालबालिकाको बौद्धिक विकास, भविष्य निर्माण र हेरचाहमा व्यतीत गर्ने शिक्षक–शिक्षिका केवल सामान्य कर्मचारी वा सहयोगी मात्र होइनन्, उनीहरू सच्चा ‘भविष्य दाता’ हुन् । जब अभिभावकले शिक्षकहरूको यो महान् योगदानको मर्म बुझेर उनीहरूको प्रशंसा गर्छन्, बालबालिकाले पनि शिक्षकहरूलाई श्रद्धा र आदरका साथ हेर्छन् र उनीहरूको मार्गदर्शनलाई खुसीका साथ पालन गर्छन् ।

घर र विद्यालय दुवै ठाउँमा एउटै किसिमको संस्कारयुक्त र सकारात्मक वातावरण पाउँदा बालबालिकामा नैतिक अन्योल रहँदैन ।

उनीहरूले घरमा हजुरबुबा–हजुरआमालाई सम्मान गर्ने, असहाय र दुःखीहरूलाई दया र सहयोग गर्ने, समाजमा मीठो बोल्ने र छिमेकीहरूसँग सुमधुर सम्बन्ध राख्ने जस्ता उच्च मानवीय गुणहरू सहज रूपमा आत्मसात गर्छन् ।

यदि अभिभावक र विद्यालयबिच समन्वयको अभाव भयो वा एक–अर्काप्रति नकारात्मक दृष्टिकोण राखियो भने त्यसको गम्भीर दुष्परिणाम सिधै अबोध बालबालिकाको भविष्यमा पर्दछ । यदि अभिभावकले छोराछोरीको अगाडि शिक्षक, शिक्षिका वा विद्यालयका नीति–नियमहरूको आलोचना, निन्दा वा कटु टिप्पणी गर्छन् भने बालबालिकाको मानसपटलमा गहिरो अन्योल सिर्जना हुन्छ । उनीहरूले शिक्षकलाई सम्मान गर्न छाड्छन् र विद्यालयलाई बोझको रूपमा लिन थाल्छन् ।

विद्यालय र अभिभावकबिच निरन्तर सम्पर्क नहुँदा विद्यार्थीहरूमा शैक्षिक अनुशासनहीनता बढ्दै जान्छ । अभिभावकले विद्यालयका रचनात्मक प्रयास र गृहकार्यमा ध्यान नदिँदा बालबालिकामा आलस्यता र दायित्वहीनताको विकास हुन्छ, जसले अन्ततः उनीहरूको नतिजा र भविष्यमा आँच पुर्‍याउँछ । आजको समय हिजोको जस्तो छैन । चेतना, प्रविधि र परिवेशमा व्यापक परिवर्तन आइसकेको छ ।

त्यसैले, अभिभावकहरू पनि समय अनुसार परिमार्जित र सचेत हुनु अपरिहार्य छ ।

त्यति मात्र होइन अभिभावक समयसँगै परिवर्तन हुन आवश्यक छ । हिजोको हाम्रो समय र वर्तमान समयलाई तुलना गरेर बालबालिकालाई अनावश्यक तनाव दिनु हुँदैन । बालबालिकाहरूलाई पिटेर, गाली गरेर सुधार गर्न सकिँदैन ।

‘हाम्रो पालामा यस्तो हुन्थ्यो’ भनेर आफ्नो विगतसँग आजका बालबालिकाको जीवन तुलना गर्नु वा अरूका बच्चाहरूसँग तुलना गरेर हीनताबोध गराउनु आधुनिक अभिभावकत्वको ठूलो भूल हो ।

बालबालिकालाई पिटेर वा कडा गालीगलौज गरेर कहिल्यै सुधार्न सकिँदैन, यसले उनीहरूलाई झन् विद्रोही वा मानसिक रूपमा कमजोर बनाउँछ । त्यसैले माया, स्नेह, प्रोत्साहन र सम्झाइबुझाइ नै सुधारका सर्वोत्तम हतियार हुन् ।

वर्तमान समयमा सामाजिक सञ्जाल, मोबाइल र डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगले बालबालिकाको सोच्ने र सिक्ने क्षमतामा प्रत्यक्ष असर पारिरहेको छ । अभिभावक आफैं घण्टौँ सामाजिक सञ्जालमा व्यस्त रहने तर बच्चालाई पढ्न मात्र दबाब दिने प्रवृत्ति गलत छ ।

यसको सट्टा, घरमा मोबाइलरहित ‘पारिवारिक समय’ निर्धारण गरी योग, ध्यान, सिर्जनात्मक छलफल, र ज्ञानमूलक पुस्तक पठनको संस्कृति बसाल्नुपर्छ । बालबालिकालाई केवल किताबी कीरा बनाउनुको सट्टा घरका साना–तिना कामहरू सिकाउने, सरसफाइ, भान्छाका काम, र बगैंचामा संलग्न गराउनाले उनीहरूमा आत्मनिर्भरता र श्रमप्रतिको सम्मान जाग्दछ ।

सुमधुर सम्बन्ध र बालबालिकाको उज्यालो भविष्यका लागि व्यवहारिक सुझावहरू :

१. यदि विद्यालय वा शिक्षकका कुनै गतिविधिमा असहमति भएमा छोराछोरीको अगाडि नभई विद्यालयमै पुगेर सम्बन्धित निकायसँग भद्र र रचनात्मक ढङ्गले छलफल गर्ने ।

२. प्रशंसा र प्रोत्साहनको संस्कृतिस् छोराछोरीको साना–साना प्रगति र प्रयासहरूको खुलेर प्रशंसा गर्ने । शिक्षक र विद्यालयका राम्रा पक्षहरूको घरमा चर्चा गर्ने ।

३. बालबालिकाले सोधेका प्रश्न र जिज्ञासाहरूलाई हँसिलो अनुहारका साथ उत्तर दिने र उनीहरूको खोजी बानीलाई बढावा दिने ।

४. दैनिक अनुशासन र संस्कारस् घरमा हजुरबुबा–हजुरआमा, दुःखी(असहाय र छिमेकीहरूसँग सम्मानजनक व्यवहार गरेर बालबालिकाका लागि आफैँ उदाहरण बन्ने ।

५. विद्यालयले सञ्चालन गर्ने बौद्धिक, खेलकुद, अतिरिक्त क्रियाकलाप र अभिभावक भेलामा नियमित उपस्थिति जनाउने ।

बालबालिकाको उज्यालो भविष्य निर्माण गर्नु भनेको एउटा सुन्दर कलाकृति सिर्जना गर्नु जस्तै हो, जहाँ शिक्षक र अभिभावक शिल्पकार हुन् ।

विद्यालय र अभिभावक बीचको सम्बन्ध शङ्का र आलोचनामा होइन, विश्वास, प्रशंसा, माया र सहकार्यमा अडिएको हुनुपर्छ । समयको मागलाई सम्बोधन गर्दै, बालबालिकालाई पिटेर वा तुलना गरेर होइन, माया, प्रोत्साहन र जीवनउपयोगी संस्कार दिएर अघि बढाउनु नै आजको सर्वोत्कृष्ट अभिभावकत्व हो । जब घर र विद्यालयको सम्बन्ध ुनङ र मासुु जस्तै गाढा बन्छ, तब मात्र हाम्रा सन्तानहरू एक सफल, संस्कारी र क्षमतावान् नागरिकका रूपमा विकसित हुन सक्नेछन् ।

(लेखक भक्ति इन्टरनेशनल एकेडेमी बूढानीलकण्ठका प्रधानाध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?