विपद् प्राधिकरणले भन्यो : ‘वर्षामा लापरबाही नगर्नुहोस्, जोखिम क्षेत्रबाट टाढा रहनुहोस्’

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिमा बाढी, पहिरो, कटान, डुबान, चट्याङ र सर्पदंशको जोखिम उच्च हुने भन्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले जनधनको सुरक्षा गर्न पूर्वतयारी आवश्यक रहेको भन्दै यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न अनुरोध गरेको छ । वर्षाको समयमा यात्रा गर्दा सतर्क रहन, ठूलो वर्षा भइरहेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न तथा बाढी आएको अवस्थामा खोला, खोल्सा र नदी पार गर्ने प्रयास नगर्न सचेत गराइएको छ ।

प्राधिकरणका अनुसार वर्षा भइरहेका बेला खोला वा नदीमा काठ–दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न जानु जोखिमपूर्ण हुन्छ । पहिरोको सम्भावना भएका क्षेत्र आसपास अनावश्यक आवतजावत नगर्न र जोखिमयुक्त पुल तथा खोलाको किनारमा उभिएर फोटो तथा भिडियो नखिच्न पनि आग्रह गरिएको छ ।

त्यस्तै, पैदलयात्रा तथा हाइकिङमा सकेसम्म एक्लै नजान, विपद्को संकेत देखिए सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीसँग समन्वय गर्न भनिएको छ ।

मनसुनका बेला सर्पदंशको जोखिम बढ्ने भएकाले घरवरपरको क्षेत्र सफा राख्न, ढल तथा नाली नियमित सफा गर्न र राति बाहिर हिँड्दा टर्च लाइट प्रयोग गर्न प्राधिकरणले सुझाव दिएको छ ।

चट्याङ पर्न लागेमा तत्काल सुरक्षित स्थानमा जान, महत्त्वपूर्ण कागजात, आवश्यक औषधि र नबिग्रने खानेकुरा सुरक्षित राख्न तथा मोबाइलमा पर्याप्त ब्याट्री र ब्यालेन्स कायम राख्न पनि अनुरोध गरिएको छ ।

प्राधिकरणले विपद्सम्बन्धी अफवाहमा विश्वास नगर्न र मौसम तथा विपद्को आधिकारिक सूचनामात्र पालना गर्न आग्रह गरेको छ । विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भएको हो । मनसुनका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि प्राधिकरणले पूर्वसावधानी अपनाउन निरन्तर आग्रह गर्दै आएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना भएका छन् । प्राधिकरणका अनुसार ती घटनाबाट करिब १३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । विपद्मा परी तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

साउन ५ गते बिहानदेखि ६ गते बिहानसम्म सर्पदंश र आगलागीका आठ–आठ वटा घटना भएका छन् । यस अवधिमा बाढीका दुई, पहिरोका १४, अविरल वर्षाका आठ, जनावर आक्रमणका तीन र हावाहुरीको एक घटना भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?