झापामा १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिइँदै

लोकपथ
7
Shares

झापा । अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधामका १७ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने भएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार एक कार्यक्रममार्फत पुर्जा वितरण गर्ने तयारी गरेको हो ।

पुर्जा वितरणअघि सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ । अनुगमनमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नापी कार्यालय भद्रपुरका प्रमुख शिवप्रसाद लम्साल, वडा नम्बर ११ का अध्यक्ष खगेन्द्र इङनामलगायत सहभागी थिए ।

नापी कार्यालय भद्रपुरका प्रमुख तथा जिल्ला भूमि समस्या समाधान समिति झापाका सदस्य सचिव शिवप्रसाद लम्सालका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमा जारी गरेको सूचनाअनुसार प्रक्रिया पूरा गरेका १७ परिवारलाई पुर्जा दिन लागिएको हो ।

उनले गत वर्ष पुर्जा लिन छुटेका र आवश्यक प्रक्रिया पूरा गरेका परिवारलाई अहिले जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न लागिएको बताए । बाँकी अव्यवस्थित बसोबासीलाई पनि प्रक्रिया पूरा गर्दै क्रमशः पुर्जा वितरण गरिने उनले जानकारी दिए ।

यसअघि अर्जुनधारा–११ का ९६ जना अव्यवस्थित बसोबासीलाई असार महिनामा र थप २३ जनालाई कात्तिक महिनामा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

सरकारले तोकेको राजस्व बुझाएका सात जना सेवाग्राही भने सम्पर्कमा नआएकाले उनीहरू सम्पर्कमा आएपछि पुर्जा दिइने बताइएको छ । नगरपालिकाका अन्य अव्यवस्थित बसोबासीलाई पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?