काठमाडौं । चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का विजेता नेपाली चलचित्र तथा कलाकारलाई काठमाडौंमा आयोजित विशेष समारोहमा कुल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म सम्पन्न नेपाली चलचित्र सप्ताहअन्तर्गत ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित हुँदै चार हजार अमेरिकी डलर पुरस्कार जित्न सफल भएको थियो ।
यस्तै, ‘तेल भिसा’ का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै दुई हजार अमेरिकी डलर प्राप्त गरे । ‘छक्का पञ्जा’ का दीपकराज गिरी उत्कृष्ट अभिनेता तथा ‘कबड्डी–४’ की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए। उनीहरूले जनही एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी, ‘महाजात्रा’ का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाकार तथा ‘होस्टेल–३’ उत्कृष्ट सम्पादन विधामा सम्मानित हुँदै जनही एक हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, डा.सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्रविज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित निर्णायक टोलीले चलचित्रहरूको मूल्यांकन गरेको थियो ।
पुरस्कार वितरण समारोहमा सहभागी हुन निर्देशक चेन शि–झेङ सहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो ।
फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सु ले चलचित्रमार्फत नेपाल–चीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले नेपाली चलचित्रले भविष्यमा चीनमा ठूलो व्यावसायिक बजार विस्तार गर्ने सम्भावना रहेको बताए ।
समारोहमा चिनियाँ लगानीकर्ताहरूले नेपाली निर्मातासँग सह–उत्पादनमा चलचित्र निर्माण गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित नेपाली चलचित्रलाई चिनियाँ ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया