टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण (ट्रान्सफर स्टेसन) केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगरले निर्माण कार्य निर्धारित समयभन्दा अघि नै सम्पन्न गरी केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ ।

बुधबार निर्माणाधीन केन्द्रको स्थलगत अवलोकनपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले केन्द्र सञ्चालनमा आएपछि महानगरको फोहोर व्यवस्थापन प्रणाली आधुनिक, सुरक्षित र व्यवस्थित हुने बताइन् ।

उनका अनुसार अहिले अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने अभ्यास भइरहेका कारण प्रदूषण र स्वास्थ्य जोखिम बढिरहेको छ । यही समस्यालाई समाधान गर्न टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण भइरहेको उनले जानकारी दिइन् ।

डंगोलका अनुसार केन्द्रमा यान्त्रिक प्रणालीमार्फत जैविक र अजैविक फोहोर छुट्याइनेछ । यसका लागि केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी ९एमआरएफ० समेत रहनेछ। छुट्याइएको अजैविक फोहोर पुनःप्रयोगका लागि पठाइनेछ भने जैविक फोहोर बञ्चरेडाँडा व्यवस्थापन केन्द्रमा पठाइनेछ । साथै, जैविक फोहोरलाई कम्पोष्ट मल उत्पादनमा उपयोग गर्ने योजनासमेत महानगरको रहेको उनले बताइन् ।

उनले अहिले फोहोर छुट्याउने काम अधिकांश स्थानमा हातैले हुने गरेको उल्लेख गर्दै निर्माण सम्पन्न भएपछि केन्द्रमा यान्त्रिक प्रविधिबाट फोहोर वर्गीकरण गरिने जानकारी दिइन् ।

डंगोलले टेकु स्थानान्तरण केन्द्रको अर्को प्रमुख उद्देश्य बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा घटाउनु रहेको बताइन् । पुनःप्रयोग गर्न मिल्ने सामग्रीलाई छुट्याएर पुनर्चक्रणमा पठाउने तथा जैविक फोहोरको वैकल्पिक उपयोग बढाउने योजनाले अन्तिम व्यवस्थापन स्थलमा पुग्ने फोहोरको परिमाण घट्ने उनको भनाइ छ ।

महानगरले मंसिरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि सम्भव भएसम्म सो समयअघि नै निर्माण सम्पन्न गरी केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको कार्यवाहक प्रमुख डंगोलले बताइन् ।

बुधबार कार्यवाहक प्रमुख डंगोलले निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्रको स्थलगत अनुगमन गर्दै निर्माण प्रगति र सञ्चालन तयारीबारे जानकारी लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?