वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदै

लोकपथ
7
Shares

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगीलाई न्यूनीकरण गर्दै अन्ततः शून्यमा झार्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् ।

मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा मन्त्री यादवले वर्षौंदेखि थन्किएका उजुरी फाइलहरूको व्यवस्थापन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार २०५७ सालदेखि थन्किएका ४० हजारभन्दा बढी उजुरी फाइल हाल फेला परेका छन् । ती फाइलहरूलाई वर्गीकरण, व्यवस्थापन र डिजिटाइज गरी गहिरो अनुसन्धानमार्फत पीडितलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइएको उनले बताए ।

मन्त्री यादवले वैदेशिक रोजगारी क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन नयाँ डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको जानकारी दिए । अब सेवाग्राहीले अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्ने, आवश्यक कानुनी ढाँचा प्रणालीले स्वतः तयार गर्ने तथा महँगो कानुनी सहायता लिनुपर्ने बाध्यता हट्ने उनले बताए ।

ठगीमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै उनले नेपाल प्रहरी, अनुसन्धान निकाय र वैदेशिक रोजगार विभागको समन्वयमा ठगी गर्ने व्यक्तिहरूमाथि कडा कारबाही गरिने तथा पीडितको रकम फिर्ता गराइने बताए ।

‘नयाँ सरकारप्रति जनताले गरेको विश्वासलाई आत्मसात गर्दै वैदेशिक रोजगारीसम्बन्धी ठगी अन्त्य गर्ने दिशामा काम गरिरहेका छौं,’ मन्त्री यादवले भने, ‘वर्षौंदेखि थन्किएका फाइलको व्यवस्थापनपछि अब सबै उजुरी डिजिटल प्रणालीमार्फत अनुसन्धान हुने व्यवस्था गरिएको छ ।’

उनले वैदेशिक रोजगार ऐन संशोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै संशोधनपछि अधिकांश सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराइने बताए । म्यानपावर कम्पनीमा आवेदन दिने, अन्तर्वार्ताको समय निर्धारण गर्ने लगायतका सेवा प्रदेशस्तरबाटै उपलब्ध गराउने तयारी रहेको उनको भनाइ छ ।

मन्त्री यादवले वैदेशिक रोजगारीको विकल्पका रूपमा आन्तरिक रोजगारी प्रवर्द्धन गर्न मन्त्रालयले १५ वटा ‘रोजगार प्याकेज’ तयार गर्ने अध्ययन गरिरहेको जानकारी दिए । साथै, स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्न नयाँ रोजगार नीति निर्माणको काम पनि अघि बढिरहेको उनले बताए ।

उनका अनुसार वैदेशिक रोजगारी क्षेत्रलाई मर्यादित, पारदर्शी र श्रमिकमैत्री बनाउन मन्त्रालयले अहिले ‘सफाइ अभियान’ सञ्चालन गरिरहेको छ र निकट भविष्यमा युवाले स्वदेशमै रोजगारी पाउने वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?