वैदेशिक श्रमिकको सुरक्षामा सरकारको नयाँ कदम, बीमा सेवा डिजिटल र सहज बनाइने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउने उद्देश्यले विभिन्न सुधारात्मक निर्णय गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्मअनुसार श्रमिकको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि सारेको हो ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीका क्रममा श्रमिकको मृत्यु वा अङ्गभङ्ग भएको अवस्थामा बीमा दाबी प्रक्रियालाई सहज बनाउन पीडित परिवारको घरमै पुगेर सहजीकरण गर्ने व्यवस्था मिलाइनेछ । यसका लागि नेपाल बीमा प्राधिकरणलाई आवश्यक पहल गर्न पत्राचार गरिने मन्त्रालयले जनाएको छ ।

बीमा रकमको दाबी तथा भुक्तानी प्रक्रियालाई पारदर्शी र छरितो बनाउन अब हकवालाको बैंक खातामै सिधै रकम पठाउने व्यवस्था गरिने भएको छ । यसका लागि मोबाइल बैंकिङ तथा अन्य विद्युतीय भुक्तानी प्रणालीको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सेवा प्रवाहलाई प्रभावकारी बनाउन वैदेशिक रोजगार बोर्ड र नेपाल बीमा प्राधिकरणका डिजिटल प्रणालीबीच अन्तरआबद्धता (एपीआई) कायम गरिने भएको छ । साथै, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा आयोजना र व्यवस्थापन सूचना प्रणाली (एमआईएस) बीच समन्वय गरी सूचना प्रणालीलाई एकीकृत गरिनेछ ।

श्रमिकको सुरक्षा दायरा विस्तार गर्न मन्त्रालयका उपसचिवको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । समितिले हालको बीमा तथा दाबी भुक्तानीको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकताको अध्ययन गर्नेछ । साथै, बीमाको दायरा विस्तार गर्दा प्रिमियममा पर्ने प्रभाव र बीमा सेवालाई थप श्रमिकमैत्री बनाउन आवश्यक सुधारका विषयमा सुझावसहित प्रतिवेदन तयार गर्नेछ ।

मन्त्रालयले बीमाको आवश्यकता र महत्वबारे श्रमिकका परिवार तथा स्थानीय तहका पदाधिकारीलाई जानकारी गराउन बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी र मन्त्रालयअन्तर्गतका निकायहरूको सहकार्यमा यस्ता कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

सरकारका यी निर्णय कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूका परिवारले बीमा सुविधा प्राप्त गर्न अहिलेको झन्झटिलो प्रक्रिया कम हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?