काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवाहरू पूर्ण रूपमा अनलाइनबाट सुरु गरेको छ ।
अब लाइसेन्सको नयाँ आवेदन, नवीकरण र राजस्व भुक्तानी जस्ता काम घरबाटै अनलाइन गर्न सकिने विभागले जनाएको छ ।
नयाँ लाइसेन्स बनाउन चाहने सेवाग्राहीले स्वास्थ्य परीक्षणका लागि मात्र सम्बन्धित यातायात कार्यालयमा जानुपर्नेछ। बाँकी प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिनेछ ।
अनलाइन सेवा सहज बनाउन विभागले सातवटै प्रदेशका लागि छुट्टाछुट्टै वेब पोर्टल तयार गरेको छ । सेवाग्राहीले आफ्नो प्रदेशअनुसारको वेबसाइटबाट सेवा लिन सक्नेछन् ।
विभागका निर्देशक केशव खतिवडाका अनुसार राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरेपछि आवेदन फारममा व्यक्तिगत विवरण स्वतः भर्न सकिने व्यवस्था गरिएको छ ।
नागरिक एप प्रयोग नगर्ने सेवाग्राहीले भने पहिलेको जस्तै आफ्नो विवरण आफैं भरेर आवेदन दिनुपर्नेछ ।
यो नयाँ व्यवस्थाले सेवाग्राहीलाई फारम भर्न र राजस्व बुझाउन कार्यालय तथा बैंकमा लाइन बस्नुपर्ने झन्झट हट्ने विभागको विश्वास छ । यसबाट लाइसेन्स सेवा छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया