काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको आज काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित आफ्नै निवासमा उनको निधन भएको थियो ।
पाण्डेको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, लेखक तथा अभियन्ताहरू आर्यघाट पुगेका थिए ।
श्रद्धाञ्जलि अर्पण गर्नेहरूमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायत रहेका थिए ।
श्रद्धाञ्जलि कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले स्वर्गीय पाण्डेको मुलुकको लोकतान्त्रिकीकरण र सामाजिक–राजनीतिक रूपान्तरणको प्रक्रियामा महत्वपूर्ण र अतुलनीय योगदान रहेको बताए ।
उनले लोकतन्त्र, नागरिक अधिकार र सुशासनका पक्षमा पाण्डेले जीवनभर खेलेको भूमिकाको स्मरण गर्दै उनको योगदान भावी पुस्ताका लागि प्रेरणादायी रहने उल्लेख गरे ।
नागरिक आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित पाण्डेले लामो समयदेखि लोकतन्त्र, मानव अधिकार, सुशासन र नागरिक स्वतन्त्रताको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
उनको निधनप्रति विभिन्न राजनीतिक दल, नागरिक समाज र शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया