काठमाडौं । विद्युतीय ठूला सार्वजनिक सवारी साधन किन्न अब बैंक तथा वित्तीय संस्थाबाट बढी ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारीका लागि ऋणको सीमा बढाएर ८० प्रतिशतसम्म पुर्याएको हो ।
यसअघि सबै प्रकारका सवारी साधन किन्न बैंकले अधिकतम ६० प्रतिशतसम्म मात्रै ऋण दिन पाउने व्यवस्था थियो । अब १ करोड रुपैयाँ पर्ने विद्युतीय सार्वजनिक सवारी किन्दा खरिदकर्ताले २० लाख रुपैयाँ मात्र लगानी गरे पुग्नेछ भने बाँकी ८० लाख रुपैयाँसम्म बैंकबाट ऋण लिन सक्नेछन् ।
यसअघि यस्तो सवारी किन्न कम्तीमा ४० लाख रुपैयाँ आफैँ लगानी गर्नुपर्ने अवस्था थियो ।
राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यवसायमा क्षति भएका सवारी साधन प्रतिस्थापन गर्न पनि ८० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था गरेको छ ।
नेपालमा साना विद्युतीय सवारीको प्रयोग बढ्दै गए पनि ठूला सार्वजनिक सवारी अझै पर्याप्त मात्रामा विद्युतीय बन्न सकेका छैनन् । नयाँ व्यवस्थाले ठूला विद्युतीय बस तथा अन्य सार्वजनिक सवारीको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया