काठमाडौं । नेपाल र भारतबीच ऊर्जा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ । पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले नेपालबाट भारततर्फ विद्युत् निर्यातको क्षमता १,१०० मेगावाटबाट बढाएर १,६५० मेगावाट पुर्याउने निर्णय गरेको हो ।
बैठकले हाल सञ्चालनमा रहेका ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी अन्तरदेशीय प्रसारण लाइनमार्फत १,४०० मेगावाटसम्म विद्युत् आयात गर्ने सहमति पनि गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवका अनुसार यस निर्णयले दुई देशबीचको विद्युत् व्यापार थप विस्तार हुने अपेक्षा गरिएको छ ।
बैठकले चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गर्दै उक्त आयोजना सन् २०२८ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य तय गरेको छ ।
त्यसैगरी, न्यू पुर्निया–दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति भएको छ । मोतिहारी–निजगढ र लखनऊ–कोहलपुर ४०० केभी प्रसारण लाइनको हकमा थप प्राविधिक अध्ययन गरिने निर्णय गरिएको छ ।
नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन भने प्रारम्भिक चरणमा २२० केभी क्षमतामा सञ्चालन गर्ने प्राविधिक सहमति भएको छ । उक्त प्रसारण लाइनको नेपालतर्फको निर्माण सन् २०२६ को अगस्टसम्म तथा सबस्टेसन निर्माण सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो लाइनबाट तत्काल १३० मेगावाट विद्युत् आयात र २०० मेगावाट विद्युत् निर्यात गर्न सकिने जनाइएको छ ।
ऊर्जा सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा सम्पन्न बैठकमा जलविद्युत् परियोजनाको विकास, विद्युत् व्यापार, प्रसारण पूर्वाधार, ग्रिड सञ्चालन, सौर्य ऊर्जा, हरित हाइड्रोजन तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार पोखरामै संयुक्त कार्यदलको १३औँ बैठक सम्पन्न भएको थियो। बैठकमा हाल सञ्चालनमा रहेका तथा प्रस्तावित विद्युत् उत्पादन र प्रसारण आयोजनाको प्रगति समीक्षा गर्दै कार्यान्वयनलाई तीव्रता दिने उपायबारे पनि छलफल गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया