मनोमानी घरभाडाको विरुद्ध संसदमा उठ्यो प्रश्न– ‘घरबेटीले के मापदण्डमा उठाउँछन् भाडा ?’

लोकपथ
252
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दैनिक जीवनसँग जोडिएको घर भाडाको विषयमा संसदमा प्रश्न उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद प्रसाईँले मापदण्ड बिना नै घरबेटीहरुले घरभाडा उठाउने गरेको आरोप लगाए ।

उनले निम्न मध्यम वर्गीय परिवारको दैनिकीसँग जोडिएको घर भाडाको विषयमा सरकारले चासोका साथ हेर्नुपर्ने बताए । साथै गाडी भाडा तोकिए जस्तै वैज्ञानिक भाडादर तोकिनु आवश्यक रहेको उनको भनाइ रहेको छ ।

सांसद प्रसाईँले भनेका छन् :

‘हामी जस्ताले भाडा तिरेरनै हजारौँ घरबेटीको घर चलेको छ । अनि सानो कोठाको भाडा ८ हजार, ९ हजार १० हजार ! कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ ? घरबेटीको इच्छा बाहेक अर्को मापदण्ड छैन, भएको पनि लागू भएको छैन । यो सामान्य विषय होइन सम्माननीय सभामुख महोदय । दुर दराजबाट आएर घरबाट खर्च मगाएर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर र निम्न मध्यम वर्गीयसँग प्रत्यक्ष दैनिक सरोकार भएको विषय हो । अनि सरकार बहाल करचाँही उठाउने अनि बहालमा बस्नेहरुलाई बेवास्ता गर्ने ? के तीन तहको सरकार तीन तले घर हुनेहरुको मात्रै हो सभामुख महोदय ?,’ उनले भने, ‘म सभामुखमार्फत् सबै तहका सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, म सामानमा प्राइस ट्याग टाँसे जस्तो घरको भित्तामा भाडादर टाँस्नुपर्छ त भन्दिन्, तर बसभाडा तोकिए जस्तै कोठा भाडाको पनि वैज्ञानिक मापदण्ड बनाउनैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?