५९२ कार्टुन भेप तस्करीमा संलग्न नेचुङका तत्कालीन कमान्डर इन्स्पेक्टर घिमिरेको ५ वर्ष बढुवा रोक्का

तर कारबाही अर्थहीन

लोकपथ
4.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले गत जेठ पहिलो साता मुस्ताङको कोरला नाकाबाट अवैध रूपमा २ वटा ट्रकमा भित्रिएको भेपको विषयमा सुरक्षा कमजोरी देखिएको भन्दै बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमान्डर सशस्त्र प्रहरी निरीक्षक वैकुण्ठ घिमिरेको ५ वर्ष बढुवा रोक्का गरेको छ ।

सिसं ४ सशस्त्र प्रहरी सहायक निरीक्षक बेसिकका उनलाई कारबाही स्वरूप पाँच वर्ष बढुवा रोक्का गरिएको भएपनि यसले उनलाई कुनै असर पार्दैन । किनकि, ५ वर्षभित्र उनी बढुवा नै हुन सक्दैन थिए । 

उनी निवर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नम्बर ९ पशुपति बाहिनीको बाहिनीपति हुँदा क्वाटर मास्टर थिए । घटुवा, ग्रेड रोक्कासहितको कारबाही गरिएको भए उनलाई प्रत्यक्ष असर पर्थ्यो । तर बढुवा रोक्काले उनलाई कुनै असर पर्दैन । यसले उनको वृत्तिविकासमा पनि कुनै असर पर्दैन ।

सशस्त्र प्रहरी मुख्यालयले गत जेठ २५ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी तत्कालीन बेस कमान्डर सशस्त्र प्रहरी निरीक्षक घिमिरेमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको बताएको थियो । तत्कालीन प्रवक्ता डीआईजी विष्णुदत्त भट्टको नाममा सम्प्रेषण गरिएको समाचारमा भनिएको थियो– ‘केही दिनअघि मुस्ताङको कोरला नाकाबाट अवैध रूपमा २ वटा ट्रकमा भित्रिएको भेपको विषयमा सुरक्षा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमान्डर सशस्त्र प्रहरी निरीक्षकमाथि पनि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

गत जेठ २ गते शनिबार नेपाल–चीन उत्तर कोरला नाकास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको थियो । कोरला नाकाबाट शंकास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा सो परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको थियो । 

कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू जेठ २ गतेसम्म कोरला नाकामा रोकिएका थिए । त्यस दिन शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो । 

मुस्ताङ भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षा निकायले अवैध रूपमा लुकाईछिपाई विद्युतीय चुरोट (भेप) लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको थियो ।

भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप रहेको थियो । सो संख्याका आधारमा दुई वटा ट्रकमा करिब एक लाख २० हजार बढी विद्युतीय चुरोट (भेप) रहेको भन्सार कार्यालयले जनाएको थियो ।

साथै कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?