सरकार फाँसीवादी यात्रामा छ, जनतालाई खुसी हुने आधार छैन : अध्यक्ष ओली

लोकपथ
7
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देश र जनताको हितविपरीत अघि बढिरहेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार जनताको समस्या समाधानभन्दा सुकुमबासी बस्तीमा डोजर चलाउने काममा केन्द्रित भएको आरोप लगाएका हुन् ।

उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अहिले देशमा खुसी हुने कुनै आधार नरहेको बताए ।

ओलीले सरकारको १०० दिनको कार्यकालबारे टिप्पणी गर्दै त्यसको मूल्याङ्कन जनताले देखिरहेको अवस्थाले नै गर्ने बताए ।

उनले सुकुमबासी बस्तीमा डोजर चलाइएको र बालबालिका रोइरहेका दृश्य सञ्चारमाध्यमहरूले सार्वजनिक गरिरहेको उल्लेख गर्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाए ।

‘पत्रकारहरूले १०० दिनको सरकारको कार्यकाल कस्तो लाग्यो भनेर सोध्नुहुन्छ। उत्तर त तपाईंहरूले नै देखिरहनुभएको छ। सुकुमबासीका फोटो आफैँले छाप्नुभएको छ, बालबालिका धरधरी रोएका तस्बिरहरू आफैँले देखाउनुभएको छ,‘उनले भने ।

ओलीले अहिलेको अवस्थाप्रति व्यंग्य गर्दै नेपालमा खुसी हुन अन्तर्राष्ट्रिय फुटबल विश्वकप हेर्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।

‘नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल खेल चलिरहेको छ। राति अबेरसम्म त्यो हेरेर एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन,‘उनले भने।

सरकारको स्थायित्वमाथि पनि प्रश्न उठाउँदै ओलीले अहिलेको सरकार “उम्लिएको दूध” जस्तै रहेको टिप्पणी गरे । उनका अनुसार सरकार बाहिरबाट भरिएको देखिए पनि त्यसको आधार कमजोर छ र भुइँमा खुट्टा टेक्न नसकेको अवस्था छ ।

‘दूध उम्लिएर भाँडा बाहिर पोखिएजस्तै अहिलेको सरकार पनि उम्लिएको मात्रै हो, स्थिर छैन,उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?