काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि आएको लेदोसहितको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय करिब ५५–५६ वर्षीया आनन्दा विक रहेकी छन् ।
आइतबार बिहान करिब ३ बजे धुलाखोलामा आएको हिलोसहितको बाढी बस्तीमा पसेपछि घरभित्र सुतिरहेकी उनी पुरिएकी हुन् ।
प्रहरी र स्थानीयवासीले उनको उद्धार गरी स्वास्थ्य चौकी झ्याँकोट पुर्याएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि रिफर गरिएको छ । अन्य तीन जनाको उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक तनावका कारण बेहोस भएका छन् । उनीहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बाढी र पहिरोले एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया