काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारतर्फको प्रारम्भिक प्रयासका रूपमा मूल्यांकन गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको वास्तविक सफलता वा असफलता आगामी दिनमा त्यसले गरेका निर्णय कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् र त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्याउँछ भन्ने आधारमा निर्धारण हुने बताएका हुन् ।
यादवका अनुसार सरकारले पहिलो १०० दिनमा ठूला लोककल्याणकारी कार्यक्रमभन्दा सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार तथा राज्य संयन्त्रलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ । उनले यसलाई सकारात्मक सुरुआतको रूपमा व्याख्या गरेका छन् ।
यद्यपि, अहिले नै सरकार सफल वा असफल भएको निष्कर्ष निकाल्नु हतार हुने उनको भनाइ छ। सरकारले अघि सारेका नीति तथा सुधारका कार्यक्रम व्यवहारमा कत्तिको प्रभावकारी रूपमा लागू हुन्छन् भन्ने आधारमा मात्रै दीर्घकालीन मूल्यांकन गर्न सकिने उनले उल्लेख गरेका छन् ।
राजतन्त्रको अन्त्यपछि समावेशी, धर्मनिरपेक्ष र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदा ‘नयाँ नेपाल’ निर्माणप्रति जनतामा ठूलो आशा जागे पनि ती अपेक्षा अझै पूर्ण रूपमा पूरा हुन नसकेको उनको भनाइ छ ।
उनले नेपाल अझै पनि राजनीतिक संक्रमणबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उल्लेख गर्दै परिवर्तनको पक्षमा उभिएका नागरिकहरू नै अहिले सबैभन्दा बढी निराश भएको टिप्पणी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया