काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रममा बोल्दै उनले डिजिटल प्लेटफर्मको दुरुपयोग गरेर एमालेविरुद्ध योजनाबद्ध रूपमा प्रहार भइरहेको दाबी गरे ।
बस्नेतले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई नेपालमाथिको आक्रमणको संज्ञा दिँदै ती घटनामा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाए । उनका अनुसार डिस्कोर्ड च्यानल, ‘वी आर नेपाली’, ‘बारबरा फाउण्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएका थिए ।
ती माध्यमबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योग–व्यवसायमा आगजनी गर्नेजस्ता हिंसात्मक गतिविधि सिकाइएको उनको दाबी थियो ।
सिंहदरबार, संसद्, सर्वोच्च अदालत, निजी उद्योग तथा एमाले नेताहरूका घरमा आगजनी गरिएका घटनाको स्मरण गर्दै उनले त्यसमा संलग्न व्यक्तिहरू अहिले पनि सत्ताको संरक्षणमा रहेको आरोप लगाए ।
बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि लगाइएका आरोप पनि प्रतिशोधपूर्ण र आधारहीन भएको बताए । पौडेलमाथि जग्गा र उद्योगको सेयरसम्बन्धी आरोप निराधार रहेको जिकिर गर्दै उनले एमालेले यस्ता गतिविधिको राजनीतिक हिसाब गर्ने चेतावनी दिए।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र सुदन गुरुङप्रति संकेत गर्दै एमाले नेतृत्वविरुद्ध निरन्तर प्रहार भइरहेको आरोपसमेत लगाए ।
बस्नेतका अनुसार एमालेले सुरु गरेको ‘पार्टी जागरण अभियान’मार्फत पार्टीविरुद्ध फैलाइएका भ्रमबारे पहिले नेता–कार्यकर्ता र त्यसपछि आम नागरिकलाई स्पष्ट पार्ने योजना बनाएको छ ।
उनले भ्रम फैलाउने प्रयासविरुद्ध एमाले वैचारिक र सांगठनिक रूपमा अझ सशक्त ढंगले प्रस्तुत हुने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया