मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन् ।
शुक्रबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते पुगेका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गणेश), मन्त्रालयका उच्च अधिकारी तथा विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी छन् ।
कोरला सडक आयोजनाका प्रमुख तेजश्वी शर्माका अनुसार टोलीले कोरला सडकको प्रगति, पूर्वाधार निर्माणको अवस्था तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विषयमा स्थलगत जानकारी लिन निरीक्षण गरेको हो ।
यस क्रममा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितिमा जोमसोम–कोरला सडकखण्डमा आवश्यक पूर्वाधार निर्माणबारे छलफल भएको थियो । छलफलका क्रममा मन्त्री लम्सालले कोरला सडकखण्डमा निर्माण गर्नुपर्ने पाँच वटा सडक पुलको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
आयोजना प्रमुख शर्माले जोमसोम–कागबेनी सडकको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ सडकखण्डमा भइरहेको कालोपत्र निर्माणको प्रगतिबारे मन्त्रीलाई जानकारी गराएका थिए ।
सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
त्यस्तै, कोरला नाकासम्मको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) सम्पन्न भइसकेकाले नाकासम्म सडक स्तरोन्नति तथा कालोपत्रको काम यथाशीघ्र अघि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा पनि मन्त्री लम्सालको ध्यानाकर्षण गराइएको छ ।
मन्त्री लम्सालसहितको टोलीले आयोजना क्षेत्रका विभिन्न स्थानको स्थलगत निरीक्षण गर्दै सडक, पुलपुलेसा तथा अन्य पूर्वाधारको अवस्थाबारे स्थानीयसँग जानकारी लिएको थियो ।
स्थानीयले कालिगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुलपुलेसा तथा अन्य संरचनामा प्रत्येक वर्ष क्षति पुग्ने जोखिम रहेको भन्दै दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया