सेवानिवृत्त कर्मचारीको सुविधा असार २५ सम्म भुक्तानी गर्न महालेखाको निर्देशन

लोकपथ
469
Shares

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीलाई प्रदान गरिने सेवा सुविधाको रकम असार २५ गतेसम्म निकासा तथा भुक्तानी गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालका अनुसार सेवानिवृत्त कर्मचारीले पाउने उपदान, सञ्चित बिदा तथा औषधि उपचारबापतको रकम समयमै भुक्तानी गर्न सम्बन्धित कार्यालयहरूलाई पत्राचारमार्फत अनुरोध गरिएको हो ।

कार्यालयको असार १९ गतेको निर्णयअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम ९२० बमोजिम भुक्तानी निकासा गर्ने अख्तियारीको अवधि थप गरिएको उनले जानकारी दिए ।

यसअघि महालेखा नियन्त्रक कार्यालयले असार २० गतेसम्म मात्रै उक्त सुविधा निकासा तथा भुक्तानी गर्ने व्यवस्था गरेको थियो ।

तर, सेवानिवृत्त कर्मचारीलाई समयमै सुविधा उपलब्ध गराउने उद्देश्यले अवधि पाँच दिन थप गरी असार २५ गतेसम्म कायम गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?