काठमाडौं । औषधि व्यवस्था विभागले मुलुकको औषधि आपूर्ति शृङ्खलालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको छ ।
विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक तथा खुद्रा बिक्रेतालाई लक्षित गर्दै औषधि आपूर्ति प्रणालीमा सुधार ल्याउन उक्त निर्देशन जारी गरिएको जानकारी दिइन् ।
निर्देशनअनुसार अब सबै स्वदेशी औषधि उत्पादक तथा पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेतासँग अनिवार्य रूपमा लिखित सम्झौता गर्नुपर्नेछ । लिखित सम्झौताबिना कुनै पनि औषधिको आपूर्ति वा वितरण गर्न नपाइने व्यवस्था गरिएको छ ।
यस्तै, उत्पादक तथा पैठारीकर्ताले आफ्ना आधिकारिक थोक बिक्रेताको अद्यावधिक सूची आफ्नै आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ ।
निर्देशनमा थोक बिक्रेताले विभागमा दर्ता भएका खुद्रा औषधि पसल, सरकारी स्वास्थ्य संस्था, अस्पताल तथा प्रचलित कानुनअनुसार दर्ता भएका संस्थालाई मात्र औषधि बिक्री–वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, खुद्रा बिक्रेताले पनि उत्पादक वा पैठारीकर्ताबाट अधिकृत थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्नेछ ।
अस्पताल, स्वास्थ्य संस्था तथा अन्य संस्थागत खरिदका लागि प्रयोग हुने औषधिको प्याकेजिङ तथा लेबलमा ‘संस्थागत आपूर्ति मात्र’ भन्ने स्पष्ट उल्लेख गर्नुपर्ने र त्यस्ता औषधि खुद्रा बिक्रीका लागि प्रयोग गर्न नपाइने विभागले जनाएको छ ।
विभागले आर्थिक वर्ष २०८३/८४ देखि थोक बिक्रेताले औषधि बिक्री–वितरण प्रमाणपत्र नवीकरण गर्दा उत्पादक वा पैठारीकर्तासँग भएको लिखित सम्झौताको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया