काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (शुक्रबार) र भोलि (शनिबार) पनि अधिकांश स्थानमा वर्षा जारी रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ ।
शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार शनिबार पनि मौसममा उल्लेखनीय सुधार आउने सम्भावना छैन । दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र तराईमा आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । देशका विभिन्न स्थानमा मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको क्रम जारी रहनेछ ।
शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम पूर्णतया बदली रहनेछ । विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया