देशभर मनसुनी वायुको प्रभाव : यी चार स्थानमा भारी वर्षाको सम्भावना

लोकपथ
126
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा आज मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले दिनभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

साथै लुम्बिनी प्रदेशको तराईका केही स्थान तथा बागमती, गण्डकी, सुदूरपश्चिम, कोसी र मधेस प्रदेशका तराईका विभिन्न स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश पहाडी तथा केही तराई क्षेत्रहरूमा वर्षा जारी रहने विभागले जनाएको छ। गण्डकी प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका नदी, खोला तथा पहिरोको जोखिम रहेका स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?