काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।
किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले सरकारले भारतसहित विभिन्न देशबाट आयात प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयका अनुसार भारतसँग गरिएको सरकारी सम्झौताअन्तर्गत ३० हजार मेट्रिक टन युरिया मल असार अन्त्यदेखि साउनको दोस्रो सातासम्म नेपाल आइपुग्नेछ । त्यस्तै, सोही सम्झौताअनुसार थप ५० हजार मेट्रिक टन मल साउन दोस्रो सातासम्म भित्रिनेछ ।
अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरमार्फत कुल १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात भइरहेको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको मन्त्रालयले जनाएको छ । यो मल साउनको पहिलो साताभित्र नेपाल आइपुग्ने लक्ष्य राखिएको छ ।
यसैबीच, विभिन्न मुलुकबाट मल ढुवानीको प्रक्रिया पनि अघि बढिरहेको छ । कतारबाट ३० हजार मेट्रिक टन, साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन र भियतनामबाट ३० हजार मेट्रिक टन मल पठाइने तयारी छ। यी सबै ढुवानी सामग्री भारतको कलकत्ता बन्दरगाह हुँदै नेपाल भित्रिनेछन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अनुसार भिसाखापटनम बन्दरगाहमा पुगेको ३० हजार मेट्रिक टन डीएपी मल असार १९-२० गतेभित्र नेपाल आइपुग्नेछ । यस्तै, केही मल जहाजमा लोड भइसकेको र केही कलकत्ता बन्दरगाहमा पुग्ने क्रममा रहेको जनाइएको छ ।
सरकारले साउन महिनाभित्र मल आपूर्ति सहज बनाउने लक्ष्यसहित काम अघि बढाइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया