काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करको दर घटाएर आन्तरिक राजस्व बढाउने रणनीति सरकारले अवलम्बन गरेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उच्च करको दरले राजस्व बढाउनुको सट्टा घटाउने, चोरी–पैठारी (स्मगलिङ) र अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने तर्क गरे ।
अर्थशास्त्रको ‘लाफर कर्भ’ सिद्धान्त उद्धृत गर्दै अर्थमन्त्री वाग्लेले करको दर निश्चित सीमासम्म बढाउँदा राजस्व संकलन बढे पनि त्यसपछि थप वृद्धि गर्दा राजस्व घट्न थाल्ने बताए ।
उनले सरकारले यसपटक उच्च सिमान्त करको दरमा १० प्रतिशत बिन्दुले कटौती गर्ने प्रस्ताव गरेको जानकारी दिँदै यसबाट राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । करको दरलाई व्यावहारिक र न्यायोचित बनाउँदा करदाताको स्वेच्छिक अनुपालना बढ्ने उनको भनाइ छ ।
अर्थमन्त्री वाग्लेले अत्यधिक करको दरका कारण कर छल्ने, राज्यको नजरबाट बच्ने तथा अनौपचारिक कारोबारतर्फ आकर्षित हुने प्रवृत्ति बढ्ने उल्लेख गरे ।
उनले भने, ‘करको दर अत्यधिक हुँदा चोरी–पैठारी (स्मगलिङ) र अनौपचारिकता बढ्छ, जसले गर्दा करदाता राज्यको नजरबाट छल्ने र भाग्ने प्रवृत्ति देखिन्छ । त्यसैले बढी कर लगाउँदैमा बढी राजस्व उठ्छ भन्ने बुझाइ गलत हो। २९ देखि ३० प्रतिशतको करको दर आजको विश्वमा प्रगतिशील नै मानिन्छ। उचित कर तिरेर राज्यको नजरमा सम्मानित नागरिकका रूपमा बस्न पाउँदा करदातालाई मानसिक शान्तिसमेत मिल्छ। हामीले कर घटाएर राजस्व बढाउने नीति लिएका छौँ ।’
उनले करको दर उचित भएमा करदाताले राज्यको नजरबाट डराएर वा भागेर हिँड्नुपर्ने अवस्था नआउने उल्लेख गर्दै यस नीतिले करको दायरा विस्तार गर्न, स्वेच्छिक कर अनुपालना बढाउन र अर्थतन्त्रलाई थप औपचारिक बनाउन सहयोग पुग्ने दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया