काठमाडौं । कानुनमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले शासकीय स्वरूप परिवर्तनसम्बन्धी आफ्नो पार्टीको प्रस्तावमा अन्य राजनीतिक दलहरूसँग पनि प्रारम्भिक छलफल गरिएको बताएकी छन् ।
बिहीबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शासकीय स्वरूपसम्बन्धी प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएको विषय भएकाले यसमा व्यापक बहस र छलफल आवश्यक रहेको बताइन् ।
रास्वपाले प्रदेशसभा खारेजी तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपको प्रस्ताव अघि सारेको छ । गौतमले उक्त प्रस्तावमा विभिन्न पक्षसँग छलफल भइरहेको र अन्ततः कहाँसम्म सहमति जुट्छ भन्ने आधारमा यसको भविष्य निर्धारण हुने उल्लेख गरिन् ।
उनले पार्टीको महाधिवेशन तीन दिनका लागि तय गरिएको भए पनि विभिन्न कारणले लम्बिएको बताउँदै पदाधिकारी चयनको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि बिहीबार नै महाधिवेशन समापन गर्ने तयारी रहेको जानकारी दिइन् ।
रास्वपाको पहिलो महाधिवेशन भएकाले यसलाई सिकाइ र अनुभवको अवसरका रूपमा लिइएको उनको भनाइ थियो ।
गौतमले दोस्रो चरणको निर्वाचनमा आफूले पनि उम्मेदवारी दिने बताउँदै कुन पदमा उम्मेदवारी दिने भन्नेबारे भने उम्मेदवारी दर्तापछि मात्र खुलाउने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया