आत्मनिर्भर बन्दै बझाङ बित्थडचिर–९ का महिला, वडाध्यक्ष जोशीको पहलमा दुना टपरी तालिम

लोकपथ
98
Shares

बझाङ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नं ९ का महिलाहरुले आत्मनिर्भरका लागि दुना टपरी बनाउने तालिम लिएका छन् ।

आर्थिक वर्ष २०८२–०८३ को महिला सशक्तीकरण सीपमूलक कार्यक्रम अन्तर्गत ‘स्थानीय सीप र उत्पादनको प्रोत्साहन गरौँ’ भन्ने मूल नाराका साथ सञ्चालित दुना–टपरी सीप विकास तालिम दिइएको हो ।

गत असार २ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको उक्त ७ दिने तालिममा वडा नं. ९ का २६ जना महिलाहरूको सहभागिता रहेको थियो । तालिममा दुना–टपरी उत्पादन तथा व्यवसाय सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।

तालिममा भावना पुलामी मगरले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै स्थानीय स्रोत–साधनको उपयोग गरी आयआर्जनका अवसर सिर्जना गर्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएकी थिइन् । सहभागीहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै निरन्तरता दिने र यसबाट सहज रूपमा जीविकोपार्जन गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमका अवसरमा वडा अध्यक्ष हरिश्चन्द्र जोशीले दुना–टपरी उत्पादनलाई केवल सीपमा सीमित नराखी भविष्यमा घरेलु तथा साना उद्योगको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले यस कार्यक्रमले महिलाहरूको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष जोशीले महिलाहरूलाई उत्पादनमुखी तथा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए । स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै महिलाहरूलाई आर्थिक गतिविधिसँग जोड्नु वडाको प्राथमिकता रहेको वडाध्यक्ष जोशीले बताए ।

तालिम समापन कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो क्षमता विकास तथा आयआर्जनको अवसर सिर्जना गर्ने महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा वडाअध्यक्ष जोशीप्रति कृतज्ञता व्यक्त गरे ।

स्थानीय सीप, श्रम र उत्पादनको प्रवर्द्धनमार्फत आत्मनिर्भर समाज निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिमले महिलाहरूमा नयाँ उत्साह, आत्मविश्वास र उद्यमशीलताको भावना जागृत गरेको सहभागीहरूको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?