अन्ततः कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुने भएका छन् । 

आज बिहान सबेरै रास्वपा सभापति रवि लामिछानेलाई पत्रमार्फत महाधिवेशन सफलताको शुभकामना दिएका कांग्रेस सभापति थापाले अन्तिम समयमा आएर रास्वपा महाधिवेशनमा जाने निर्णय लिएका हुन् । यसअघि रास्वपा महाधिवेशनमा कांग्रेसबाट उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय भएको थियो । 

तर, आज बिहान सभापति थापा आफैँ रास्वपाको महाधिवेशन उद्घाटनमा सहभागी हुने निष्कर्षमा पुगेको जनाइएको छ ।

कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले रास्वपा महाधिवेशनका लागि सभापति थापा चितवन जाँदै गरेको बताए । उनले सभापति थापा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघको आज हुने कार्यक्रमको प्रमुख अतिथि बन्ने तालिका रहेको तर थारु संघको कार्यक्रममा उपसभापति पुष्पा भुसाललाई पठाएर आफै जान लागेको बताए । 

कांग्रेस सभापति थापाले आज आइतबार बिहान सभापति लामिछानेलाई पत्र लेख्दै लामिछानेको आगामी राजनीतिक यात्रा तथा रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए । पत्रमा यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको पनि थापाले भनेका थिए । साथै महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जबाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा आफूले लिएको पनि कांग्रेस सभापति थापाले भनेका थिए ।

महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुँदै छ । 

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सभापति लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?