काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटनस्थल वर्षाले जलमग्न बनेको छ ।
गएराति एक घण्टाभन्दा बढी समय परेको मुसलधारे वर्षाले उद्घाटनस्थल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौर जलमग्न भएको हो । उद्घाटनका लागि बनाइएको टेन्टभित्र दह जमेको छ ।
महाधिवेशनको उद्घाटन आज आइतबार दिउँसो २ बजे हुँदै छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने छन् ।
महाधिवेशनको उद्घाटन समारोह स्थललाई रवि र बालेनको तस्बिरसहित सजाइएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार, महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको छ ।
महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए ।
महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया