भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी–व्यापारीमार्फत चन्दा नउठाइएको स्पष्ट पारेका छन् ।
चितवनको भरतपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै झाले महाधिवेशनका नाममा व्यापारी वा ठूला घरानालाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए । ‘हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,‘उनले भने, ‘महाधिवेशनका लागि भनेर कुनै घराना व्यापारीलाई रसिद पठाएका छैनौँ ।’
रास्वपाले महाधिवेशन सञ्चालनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त रकम सांसद, केन्द्रीय समिति सदस्य, विभिन्न विभागका सदस्यको लेबी तथा महाधिवेशन प्रतिनिधिबाट संकलन हुने पार्टीले जनाएको छ ।
प्रवक्ता झाले सांसदहरूले मासिक १६ हजार ५०० रुपैयाँ योगदान गर्ने र त्यसबाट करिब ३२ लाख रुपैयाँ मासिक संकलन हुने दाबी गरे । त्यस्तै, केन्द्रीय सदस्यबाट वार्षिक २५ हजार रुपैयाँ संकलन हुने र महाधिवेशन प्रतिनिधिबाट मात्रै करिब डेढ करोड रुपैयाँ उठ्ने उनले बताए ।
उनका अनुसार शुभेच्छुकहरूबाट आन्तरिक रूपमा क्युआर कोडमार्फत पनि सहयोग संकलन भइरहेको छ ।
झाले पार्टीका सदस्यहरू आफ्नै पेसा–व्यवसायमा सक्रिय भएकाले यातायात र आवासको खर्च आफैँ व्यवस्थापन गर्न सक्ने अवस्थामा रहेको दाबी गरे। उनले महाधिवेशनका लागि टिकट र होटल बुकिङसमेत सहभागीहरूले आफैँ गर्ने बताएका छन् ।
उनले राजनीतिक दलहरूले व्यापारीसँग चन्दा माग्ने अभ्यास गलत भएको टिप्पणी गर्दै भने, ‘राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेसा हुनुपर्छ। सहयोग माग्दा स्वार्थ जोडिन्छ ।’
रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया