जनमत प्राप्त सरकारले करको विवेकपूर्ण उपयोग गर्छ : अर्थमन्त्री वाग्ले

लोकपथ
35
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले उठाइएको करलाई आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण ढंगले उपयोग गर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले कर संकलन र खर्च व्यवस्थापनमा सन्तुलित तथा व्यावहारिक नीति अवलम्बन गरेको स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले संसदले आवश्यक निर्देशन दिए विशेष प्रकृतिका बजेट व्यवस्थासमेत गर्न सकिने बताए । उनले विभिन्न स्रोतबाट संकलन गरिएका करहरू एउटै सञ्चित कोषमा जम्मा हुने र त्यसको उपयोग सरकारले राष्ट्रिय आवश्यकता अनुसार गर्ने नीति रहेको उल्लेख गरे ।

उनले करलाई निश्चित प्रयोजनका लागि मात्रै छुट्याएर प्रयोग गर्ने व्यवस्था (इयरमार्किङ) गर्न सकिए पनि त्यसले प्रशासनिक तथा कानुनी जटिलता निम्त्याउन सक्ने बताए ।

‘सयौँ र हजारौँ स्रोतबाट कर उठाउन सकिन्छ। उठाइएको करलाई निश्चित प्रयोजनका लागि मात्रै उपयोग गर्ने व्यवस्था गर्न पनि सकिन्छ । तर त्यससँगै प्रशासनिक र कानुनी जटिलताहरू आउँछन्,‘उनले भने ।

वाग्लेले पूर्वाधारका लागि उठाइएको करबाट समेत आवश्यकताअनुसार अन्य राष्ट्रिय परियोजनामा स्रोत विनियोजन गर्न सकिने उदाहरण दिँदै बुढीगण्डकी आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरणका लागि अर्बौँ रुपैयाँ खर्च गरिएको प्रसंग उल्लेख गरे ।

उनले प्रदूषण शीर्षकमा उठाइएको कर वातावरण संरक्षण, स्वास्थ्य तथा सम्बन्धित निकायमार्फत विभिन्न कार्यक्रम र बजेट विनियोजनमा प्रतिबिम्बित हुने बताए ।

अर्थमन्त्री वाग्लेले करको उपयोग गर्दा प्रशासनिक र कानुनी जटिलता कम गर्ने तथा राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने गरी सरकार अघि बढिरहेको समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?