काठमाडौं । विभिन्न वामपन्थी घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद देखिन थालेको छ ।
नेकपाभित्रका एक शीर्ष नेताका रुपमा रहेका झलनाथ खनालले आफूलाई पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि देखाएका हुन् ।
झलनाथले प्रचण्डलाई ३६ बुँदामा पार्टीभित्रका विभिन्न पक्षहरुलाई विश्लेषण गर्दै पत्र पठाएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथले आफू पार्टी संयोजक प्रचण्ड सरहकै नेता रहेको उल्लेख गर्दै आफूलाई जिम्मेवारी दिन कसले रोकेको भन्दै प्रश्न गरेका छन् । ०८२ साल कार्तिक २९ गते आफूलाई विभिन्न बाचा गरेर एकताका लागि बोलाइएको स्मरण समेत गराएका छन् ।
‘आखिर तपाईँ आफै सरहको एउटा नेतालाई एउटा जिम्मेवारी पनि दिन सक्नुहुन्न, पार्टीको हितमा निर्णय लिन सक्नुहुन्न र कमिटीको भावना अनुरुप एउटा जिम्मेवारी पनि दिन सक्नुहुन्न भने तपाईँले मलाई के का निम्ति एकतामा आउन त्यत्रो आग्रह गरेको ?,’ झलनाथले भनेका छन् ।
झलनाथले पार्टीभित्रकै नेताहरुले बाध्यतामा पारेर आफूलाई जिम्मेवारीबाट बन्चित गरिएको उनको आरोप छ । आफू पार्टीमा जिम्मेवारीविहीन बन्दा के गरेर बस्ने हो ? भन्दै प्रश्न गरेका छन् ।
‘मैले विगतका कुरा अध्ययन गर्दा तपाईँ अरु कसैले कान भरेको आधारमा काम गर्ने जस्तो त लाग्दैन थियो । तर अहिले तपाईँलाई कुन बाध्यता छ ? कुन विविशता छ ? के को दबाब छ ? किन मलाई जिम्मेवारी दिन सक्नुहुन्न ?,’ झलनाथले भनेका छन्, ‘तपाईँ अरु केहीलाई लिएर देशका विभिन्न स्थानमा गइरहनु भएको छ । तर एउटा नेतालाई जिम्मेवारी विहीन बनाएर घुम्दा तपाईँलाई कति आनन्द आइरहेको छ ? मैले यो पार्टीमा धुप हालेर बस्ने कि ? पूजा गरेर बस्ने ?’
त्यसो त माधव नेपालसहितका तत्कालीन एकीकृत समाजवादीका नेताहरु तत्कालीन माओवादीसँग एकता गर्ने भएसँगै झलनाथ असन्तुष्ट थिए । विभिन्न सहमतिपछि मात्रै अन्तिममा झलनाथ एकताप्रक्रियामा सामेल भए । तर अहिले आएर ती सहमति र बाचाहरु भुलिएको उनको गुनासो छ ।
‘दिन बित्दै जान थालेपछि तपाईँले मसँग भएका सहमतिलाई वेवास्ता गर्दै जानुभयो र माधव नेपालले जेजे भन्नुहुन्छ त्यही कुरा लागू गर्दै जानुभयो । मैले तपाईँलाई वचनको पक्का ठानेको थिएँ । तर अरु कसैको पुर्वाग्रहलाइ समेत ग्रहण गर्नुहोला भन्ने सोचेको थिइन्,’ उनले भनेका छन् ।
झलनाथले पार्टीभित्रका गतिविधिले गर्दा नेकपा पार्टी बन्ने भन्दा पनि विघटनको दिशामा गइरहेको आशंका व्यक्त गरेका छन् । प्रचण्ड–माधव नेपालसहितका नेताहरुको कारणले नेता र कार्यकर्ता पंक्तिमा निशारा छाइरहेको बताए ।
‘कमरेड प्रचण्ड ! यी सबै कुराले गर्दा नेपाली कम्युनिष्ट पार्टी बन्ने दिशामा भन्दा पनि विघटनको दिशामा गैरहेको देखिन्छ । तपाईहरु जहाँ गै रहनु भएको छ, त्यहाँ नै सम्वन्धित कमिटी तहका कमरेडहरुको ठुलो हिस्सा उपस्थित हुन पनि सकिरहेको छैन । कमरेडहरुमा दिशाहिनता, निरासा, निस्कृयता, र पलायनका प्रवृतिहरु बढि रहेका छन् । तपाई आफैँमा पनि अहिले अकर्षण छैन, नेतृत्वमा पनि आशा, भरोसा एकदमै घटेको छ भन्ने कुरा किन बुझ्न सकिरहनु भएको छैन,’ उनले भनेका छन् ।
पूर्णपाठ पढ्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया