जंगली जनावरको क्षति रोक्न राज्यले नयाँ दृष्टिकोण अपनाउनुपर्छ : शंकर पोखरेल

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण किसानहरूले भोग्नुपरेको समस्या समाधानका लागि नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बाँदर, बँदेल र दुम्सी लगायतका जंगली जनावरको आतङ्कका कारण किसानहरू गम्भीर समस्यामा परेको उल्लेख गरेका छन्।

पोखरेलका अनुसार खेतबारीमा जंगली जनावरले पुर्‍याएको क्षति देखेर किसानहरू आक्रोशित र पीडित बनेको दृश्यले सबैलाई उद्वेलित बनाएको छ । तर राज्यका निकायहरू भने अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनी व्यवस्थाका कारण आवश्यक कदम चाल्नबाट पछि हटिरहेको उनको टिप्पणी छ ।

उनले भनेका छन्, ‘किसानहरू जंगली जनावरले पुर्‍याएको कृषिवालीको क्षति देखाएर रोइरहेको, आक्रोश पोखिरहेको दृश्यले सबैलाई उद्वेलित बनाइरहेको छ । तर राज्यका निकायहरू अभिसन्धि र कानुनका कारण ती दृश्यबाट विमुख भइरहेका छन् । यस्तो लाचारी कहिलेसम्म ?’

उनले अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनको बहानामा किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट विस्थापित गर्नु न्यायोचित नहुने पनि बताएका छन् ।

पोखरेलले बाँदर, बँदेल र दुम्सीको समस्या बढ्दै गएको भन्दै अब ढिला नगरी सर्वदलीय बैठकमार्फत ठोस राष्ट्रिय दृष्टिकोण बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?