रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

लोकपथ
56
Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिको सभापतिमा कास्कीका नवीन त्रिपाठी निर्वाचित भएका छन् ।

शुक्रबारदेखि पोखरामा सुरु भएको प्रथम प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा त्रिपाठी विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार त्रिपाठीले २३४ मत प्राप्त गर्दै पहिलो चरणमै सभापतिमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान सभापति तथा प्रतिनिधिसभा सदस्य राजन गौतमले १८२ मत प्राप्त गरे । यस्तै, माधव कँडेलले ११ र डा। हरि कार्कीले २ मत पाए ।

रास्वपाको विधानअनुसार सभापति निर्वाचित हुन कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । त्रिपाठीले आवश्यक मत प्राप्त गरेपछि पहिलो चरणमै विजयी भएको निर्वाचन समितिका संयोजक डा. राम गुरुङले जानकारी दिए ।

अधिवेशनमा कुल ७८० प्रतिनिधि रहे पनि ४३७ जनाले मतदानमा सहभागिता जनाएका थिए। त्रिपाठी यसअघि गण्डकी प्रदेश समितिका महामन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

प्रदेश समितिको सदस्य पदका लागि ५१ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये विभिन्न क्लस्टरअन्तर्गत ३३ जना निर्वाचित हुने व्यवस्था छ। क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जनाको उम्मेदवारी परेकोमा गण्डकी प्रदेशका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक–एक जना सदस्य चयन हुनेछन् ।

निर्वाचन समितिका अनुसार क्षेत्रगत सदस्यतर्फ बागलुङ–१ की मीना शर्मा आचार्य, गोरखा–१ का मनोज गुरुङ, गोरखा–२ का बलबहादुर घले, लमजुङका विजय पराजुली, म्याग्दीका ताराबहादुर कार्की र तनहुँ–१ का सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

समावेशी सदस्यतर्फ खसआर्य महिला समूहबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी, मुस्लिम महिलातर्फ समिउन निशा, दलित महिलातर्फ गीता विश्वकर्मा तथा अपाङ्गता भएका खसआर्य समूहबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

रास्वपा गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?