अब नेता होइन, जनता रिसाएको विषयमा चिन्तित हुनुस् : गगन थापा

लोकपथ
35
Shares

गोरखा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्तालाई नेता रिसाएकोभन्दा पनि जनता किन रिसाए भन्ने विषयमा चिन्तित हुन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले केन्द्रको राजनीतिक समीकरणभन्दा जिल्लाका जनताको भावना र अपेक्षाप्रति बढी ध्यान दिन सुझाव दिए ।

‘फलानो नेता रिसाए कि, ढिस्कानो नेता रिसाए कि भनेर चिन्ता गर्न छाड्नुस् । पार्टीको चुनाव चिह्नमा भोट हाल्ने जनता किन रिसाए भनेर चिन्ता गर्नुस्,‘थापाले भने, ‘माथि, केन्द्र म मिलाउँछु । तल, जिल्ला तपाईंहरू मिलाउनुस् ।’

उनले जनता पार्टीसँग असन्तुष्ट भएकै कारण पछिल्लो निर्वाचनको नतिजामा असर परेको उल्लेख गर्दै जनताको विश्वास पुनः जित्न पार्टी पंक्तिलाई आग्रह गरे ।

थापाले पार्टीको साधारण सदस्यको भूमिका र महत्त्वलाई विशेष जोड दिँदै सदस्यहरूको सम्मान, संरक्षण र अभिमतलाई संस्थागत गर्नुपर्ने बताए । उनले २०८४ सालको निर्वाचनमा उम्मेदवार छनोट प्रक्रिया तल्लो तहबाट सुरु गर्ने योजना रहेको जानकारी दिए ।

‘अँध्यारो कोठामा बसेर यो हाम्रो मान्छे, त्यो फलानोको मान्छे भन्ने दिन गयो,‘उनले भने, ‘अब गोरखा नगरपालिकाको मेयरको टिकट कसलाई दिने भन्ने निर्धारण गोरखा नगरपालिकाकै पार्टीले गर्नेछ ।’

उनले आगामी दिनमा तल्लो तहका पार्टी सदस्यहरूको रायलाई औपचारिक रूपमा निर्णय प्रक्रियामा समेट्ने र पार्टी सदस्यको शक्तिको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?