सदन गतिरोधबारे विपक्षसँग थप छलफल गर्ने रास्वपाको तयारी

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा जारी गतिरोध अन्त्यका लागि विपक्षी दलहरूसँग थप छलफल गर्ने जनाएको छ ।

सोमबार रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा तत्काल सहमति जुट्न नसकेपछि छलफललाई निरन्तरता दिने निष्कर्षमा पुगेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीको संसद सम्बोधन र त्यसमा उठेको विषयलाई लिएर दलहरूबीच फरक धारणा देखिएको छ । रास्वपाले उक्त विषय परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले परराष्ट्रमन्त्रीमार्फत स्पष्टता दिन सकिने धारणा राखेको छ भने विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने अडान राखेका छन् ।

बुर्लाकोटीले सभापति लामिछानेले पनि विषयगत मन्त्रालयमार्फत जवाफ दिनु उपयुक्त हुने धारणा राखेको बताए । उनका अनुसार कृषि, ऊर्जा तथा परराष्ट्रजस्ता विषयगत मन्त्रालयहरूले आ–आफ्नो क्षेत्रका विषयमा जवाफ दिनुपर्ने अभ्यासअनुसार यो विषय पनि परराष्ट्र मन्त्रालयमै पर्ने तर्क गरिएको हो ।

‘यो विषयलाई विषयगत रूपमा नै समाधान गर्दै अघि बढ्ने विषयमा छलफल भएको हो,‘ बुर्लाकोटीले भने, ‘यदि आवश्यक परे थप छलफल गरेर सदनको गतिरोध अन्त्य गर्ने सहमति नजिक पुगेका छौँ ।’

उनले भारत भ्रमण र अन्य समसामयिक विषयमा भने दलहरूबीच लगभग सहमति नजिक पुगेको समेत जानकारी दिए । साथै, उनले संसदको अवरोध हटाउन सबै पक्षले लचिलो भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

हाल संसदमा जारी गतिरोधका कारण नियमित कार्यसूची प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?