गुटगत राजनीति त्यागेर सहकार्य गर्न सञ्चारमन्त्री मन्त्री तिमिल्सिनाको आह्वान

लोकपथ
56
Shares

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मुलुक नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताएका छन् । उनले मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ र बिचौलियातन्त्रको प्रभाव क्रमशः अन्त्य हुँदै गएको दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नुवाकोटमा आयोजित प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार अघि बढिरहेको बताए ।

उनका अनुसार विगतमा सरकार र मन्त्रीलाई प्रभावमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियाको भूमिका कमजोर हुँदै गएको छ । ‘वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ, राजनीति कस्तो हुनुपर्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्नुपर्छ,‘उनले भने ।

मन्त्री तिमिल्सिनाले राजनीति व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम नभई देशलाई सही दिशामा अघि बढाउने साधन हुनुपर्ने उल्लेख गरे । विकास निर्माणमा कुनै पनि क्षेत्र वा समुदायलाई विभेद नगरिएको दाबी गर्दै उनले सबै नागरिकलाई समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको बताए ।

उनले शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने विगतका अभ्यास अन्त्य भएको उल्लेख गर्दै निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्ने दिशामा सरकार अघि बढिरहेको बताए ।

‘सरकारले एक–दुई महिनामै सबै परिणाम दिन नसके पनि यसको दिशा र कार्यशैली सही छ कि छैन भन्ने आधारमा मूल्यांकन हुनुपर्छ,‘उनले भने।

उनले सरकारलाई प्रभावकारी बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको भन्दै सहकार्यको वातावरण बनाउन आह्वान गरे । साथै, दलभित्र गुटगत राजनीतिले संगठनको छवि कमजोर बनाउन सक्ने चेतावनी पनि दिए ।

कार्यक्रममा रास्वपाका सांसद बोधनारायण श्रेष्ठले नुवाकोट र धादिङका साझा विकास समस्या संयुक्त रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नेतृत्व समस्याको समाधान गर्ने माध्यम हुनुपर्ने भन्दै सक्षम व्यक्तित्वले मात्र प्रभावकारी नेतृत्व दिन सक्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?