काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ निर्मम ढंगले अघि बढ्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुशासन कायम गर्न सरकारले म्याक्रो र माइक्रो दुवै तहमा ठूला सुधारका कदम चालिरहेको बताएका हुन् । उनका अनुसार वर्तमान सरकार कुशासनबाट आजित नागरिक, उद्यमी र व्यवसायीको जनादेशका आधारमा बनेको हो ।
अर्थमन्त्री वाग्लेले डिजिटलाइजेशनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने, नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्ने र योग्यता प्रणाली (मेरिटोक्रेसी) लाई स्थापित गर्ने उद्देश्यसहित सरकार अघि बढिरहेको बताए ।
उनले विगतमा गरिबीको नाममा धेरै राजनीतिक भाषण भए पनि गरिबी उन्मूलनका दीर्घकालीन उपायमा पर्याप्त ध्यान नदिइएको टिप्पणी गरे ।
उनका अनुसार नगद बाँड्दैमा मात्र गरिबी अन्त्य नहुने र गरिबलाई मध्यम वर्गमा रूपान्तरण गर्न सम्मानजनक रोजगारी आवश्यक पर्ने बताए । त्यसका लागि निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो ।
वाग्लेले सरकारले बजेटमार्फत अर्थतन्त्रमा “बिग ब्याङ रिफर्म्स” सुरु गरेको दाबी गरे । कर प्रणालीमा व्यापक सुधार गरिएको उल्लेख गर्दै उनले १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर छुट दिने तथा उच्च आयकर दरलाई १० प्रतिशत बिन्दुले घटाउने निर्णयले लगानीमैत्री वातावरण निर्माण हुने बताए ।
उनले आयकर कटौतीबाट सिर्जना हुने राजस्व घाटालाई उपभोगमा आधारित कर प्रणालीमार्फत व्यवस्थापन गर्ने रणनीति अपनाइएको जानकारी दिए । उनका अनुसार व्यापक उपभोग आधार विस्तार गरेर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको लक्ष्य रहेको छ ।
अर्थमन्त्री वाग्लेले अनावश्यक रूपमा लगाइएका केही अन्तःशुल्क खारेज गरिएको तथा उद्योगी–व्यवसायीको सुझावका आधारमा केही उत्पादनमूलक क्षेत्रलाई सीमित अवधिका लागि संरक्षण प्रदान गरिएको पनि बताए ।
उनले गरिबको नाममा राजनीति गर्ने तर व्यवहारमा क्रोनी क्यापिटलिज्मलाई संरक्षण गर्ने विकृत राजनीतिक मोडल अन्त्य गर्न सरकार लागेको दाबी गर्दै नयाँ आर्थिक–राजनीतिक दिशातर्फ मुलुकलाई अघि बढाउने प्रयास भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया