सरकारप्रति सुशीला कार्कीको टिप्पणी : ‘शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन’

लोकपथ
70
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारलाई विपक्षीलाई निषेध गर्ने वा कमजोर पार्ने दिशामा जान नहुने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता पक्षले आफू शक्तिमा पुगेको आधारमा अर्को पक्षलाई समाप्त गर्ने सोच राख्न नहुने स्पष्ट पारिन् । ‘पावरमा आइयो भनेर अर्को पक्षलाई नास्तानामुद गर्ने होइन,‘भन्दै उनले लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा र आलोचना स्वाभाविक हुने धारणा राखिन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरुलाई विगतको अनुभव र इतिहासलाई मनन गर्दै अघि बढ्न सुझाव दिइन् ।

पूर्वप्रधानमन्त्री कार्कीले नयाँ पुस्ताका नेताहरू उदय भएको उल्लेख गर्दै उनीहरूले अघिल्ला राजनीतिक अनुभवबाट पाठ सिक्नुपर्ने बताइन् । साथै, पुराना नेताहरू पनि सधैं पदमा नरहने भएकाले राजनीतिक संस्कृतिमा सहिष्णुता आवश्यक रहेको उनको भनाइ थियो ।

उनले विपक्षी दलले सरकारको आलोचना गर्दा पनि सभ्य र रचनात्मक शैली अपनाउनुपर्नेमा जोड दिइन् । ‘प्रतिपक्षले सरकारका त्रुटि देखाउनु स्वाभाविक हो, तर त्यो सभ्य भाषामा मार्गनिर्देशन हुनुपर्छ,‘उनले भनिन् ।

कार्कीले जनताले दिएको मतको सम्मान गर्दै सरकारलाई काम गर्न दिनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रतिस्पर्धा विकासको आधार हुन सक्ने बताइन् ।

त्यसैगरी उनले निर्वाचन प्रक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंसा पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?