लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता महत्वपूर्ण हुन्छ : पूर्वमन्त्री अर्याल

लोकपथ
70
Shares

काठमाडौं । पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण बढी महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्रले सबैका लागि समान अवसरका ढोका खोलेको उल्लेख गरे ।

अर्यालले केही समयअघि निजामती सेवाको छैटौँ तहमा रहेका कर्मचारीहरू अहिले सांसद मात्र नभई मन्त्रीसमेत बनेको उदाहरण दिँदै यो व्यवस्थाले अवसरको समान पहुँच सुनिश्चित गरेको स्पष्ट पारे । उनले कसैलाई पनि आधारविहीन रूपमा मानमर्दन गर्न नहुने र सबैलाई ‘बेनिफिट अफ डाउट’ दिनुपर्ने धारणा राखे ।

गृह प्रशासनको कार्यशैलीबारे चर्चा गर्दै उनले प्रशासनले प्रमाणका आधारमा मात्र आलोचना वा कारबाही अघि बढाउने गरेको दाबी गरे । प्रतिकूल प्रमाण नभेटिएसम्म कसैलाई दोषी करार गर्न नहुने उनको तर्क थियो ।

उनले भने, ‘हामीले लोकतन्त्रमा हाइरार्कीभन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण बनायौँ, जसले परिणाम दिएको छ। अहिले पनि केही साथीहरू केही महिनाअघि छैटौँ तहमा हुनुहुन्थ्यो, अहिले सांसद मात्र होइन मन्त्रीसमेत बन्नुभएको छ। त्यसैले सबैका लागि अवसर खुला छ ।

अर्यालले समाजमा अझै पनि मानमर्दन र दोषारोपण गर्ने प्रवृत्ति रहेकोप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र सुदृढ हुँदै जाँदा यस्ता व्यवहारहरू स्वतः कम हुँदै जाने विश्वास व्यक्त गरे ।

उनले वर्तमान सरकारले पनि यस विषयमा विशेष ध्यान दिने र आगामी दिनमा राजनीतिक तथा प्रशासनिक वातावरण थप सुधार हुने अपेक्षा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?